सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना
नारायण श्रेष्ठ/पुस २७, रामेछाप ।
रामेछापमा आज टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मन्थलि नगरपालिका १ मक्षेडाँडीमा भएका टिपर दुर्घटनामा सिन्धुली जिल्ला भद्रकाली– ८ का १८ बर्षिय रमेश बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा घाईते हुनेहरू मध्ये सिन्धुलीका २१ बर्षिय मोहन खड्का र चालक सर्लाही जिल्लाका ३० बर्षिय मुकुन्द घिमिरेको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी धुलिखेल अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार रामेछाप डडुवा–५ का २१ बर्षिय कुसुम थामीको तामाकोशी अस्पताल मन्थली रामेछापमा उपचार भई रहेको छ ।
सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहानको समयमा खाली सडक हुने भएकाले सहचालकले चलाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । चालक भने बोल्न नसक्ने अवस्थामा रहका छन् । घटनाको प्रारम्भिक अनुसन्धानमा टिपर तिब्रगतिमा रहेको र मोडमा चालकले उचित नियन्त्रण गर्न नसकेको देखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


