नारायण श्रेष्ठ,जेठ २,रामेछाप
रामेछाप जिल्लाका २१ गाउं विकास समितिहरुमा आज जेठ २ गतेदेखि भुकम्प प्रभावित घर परिवारहरुसंग निजी आवास निर्माण अनुदान संझौताको कार्य एकसाथ सञ्चालन हुन भएको छ ।
ती गाविसहरुमा दोरम्बा, पिङ्खुरी, माकादुम, गागलभदौरे, चनखु, साघुटार, भुजी, गुम्देल, गोठगाउं, दुरागाउं, रामपुर, पुरानागाउं, गौश्वारा, खिम्ति, खनियापानी, तिल्पुङ, वाम्ती, नामाडी, विजुलीकोट, पकरवास र गेलु रहेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले एक बि१प्ती जारी गर्दै उक्त कार्यकोलागि गाविस सचिव, प्राविधिक एवं अन्य कर्मचारीहरु आवश्यक सरसामाग्री सहित सम्बन्धित गाविसमा पुगिसकेको जनाएको छ ।
लाभग्राहीको नामावली प्राप्त भइसकेका अन्य १९ गाविसहरुमा पनि अनुदान संझौताको काम केही दिन भित्रमै शुरु गरिदैछ । अनुदान संझौता र गुनासो सम्बोधनको काम एकैसाथ अगाडि बढाइने भएकोले लाभग्राही सूचिमा नाम परेकाहरुले शीघ्र अनुदान संझौता गर्नुहुन र लाभग्राही सूचिमा आफ्नो नाम छुट हुन गएको भन्ने लागेमा पुर्ननिर्माण प्राधिकरणबाट तयार पारिएको गुनासो फारम भरी सम्बन्धित गाविसमै पेश गर्नुहुन प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलले आग्रह गर्नुभयो ।

कुनैपनि वास्तविक भुकम्प पिडित परिवार अनुदान प्राप्त गर्नबाट बञ्चित नहुनें र सवै प्रकारका गुनासाको गाविसमै प्रभावकारी संवोधन हुने भएकोले कसैको लहलहै वा हल्लामा लागि डेलिगेसन आउने वा अनावश्यक विरोधका कार्यक्रममा सहभागी नभई अनुदान सझौता र गुनासो व्यवस्थापनको कार्यमा सहयोग गर्नुहुन उहाले सवैमा अनुरोध गर्नुभयो । अनुदान संझौताको यस कार्यलाई शीघ्र र प्रभावकारीरुपमा सम्पन्न गर्नकोलागि विगतमा जस्तै सम्बद्ध सवैबाट आवश्यक सहयोगको लागि अनुरोध गरिएको हो ।

