![]() |
| स्केचः नेपालीपत्र ग्राफिक्स |
काठमाडौं, भदौ २४ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्व सरकारको तीव्र्र आलोचना गरेका छन् ।
शुक्रबार नेकपा एमाले केन्द्रीय युवा तथा खेलकुद विभागले काठमाडौंमा आयोजना गरेको राष्ट्रको समृद्धि युवाको भूमिका विषयक विचार गोष्ठिमा प्रमुख अतिथिका रुपमा उपस्थित ओलीले युवाहरुलाई मार्गदर्शन दिने काम त गरे, साथै सरकार र भारतप्रतिको कटाक्ष गर्न पनि छुटाएनन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दाहाल सरकारप्रति आठ कटाक्ष यसरी प्रस्तुत गरे ।
१. डिजाइनड् इन समह्वेर
सम्बोधनको सुरुमै प्रधानमन्त्री ओलीले वर्तमान सरकार विदेशमा डिजाइन भएको र नेपालमा गठन भएको आरोप लगाए । उनले भने, ‘एप्पल कम्पनिको आइफोनका पछाडी डिजाइन इन क्यालिफोर्निया एसेम्बल्ड इन चाइना भनेर लेखेको हुन्छ । वर्तमान सरकार पनि त्यस्तै डिजाइन इन समह्वयर र एसेम्बल्ड इन नेपाल हो ।
२.संसदमा प्रधानमन्त्रीको मयुर नाच
ओलीले विदेशमा डिजाइन भएको सरकारको प्रसंगलाई संसदमा प्रधानमन्त्रीको सम्बोधनसँग जोडे । प्रधानमन्त्रीको सम्बोधन कतैबाट निर्देशित भएको र संसदमा प्रस्तुत भएको आरोप उनले लगाए । अध्यक्ष ओलीले भने, ‘संसदमा प्रधानमन्त्रीको भाषण सुन्दा मयुर नाच जस्तो लाग्यो । मयुर नाचमा मयुरका प्वांख हुन्छन् तर मयुर स्वयं उपस्थित हुँदैन । मलाई हिजो त्यस्तै लाग्यो ।’
ओलीले प्रधानमन्त्रीको सम्बोधनमा गरिब जनताको पक्षमा कुनै योजना नभएको र आफ्ना कार्यकर्ता पोस्ने योजना सार्वजनिक गरेको बताए ।
३. विदेशीको इशारमा होइन, देश हितमा काम गरेर देखाउनुहोस्
अध्यक्ष ओलीले मधेस आन्दोलन आफ्नै पहलमा शान्त भएको र भारतसँगको सम्बन्ध आफ्नै सरकारका पालामा सुध्रिएको दावी गर्दै आएका अध्यक्ष ओलीले वर्तमान सरकारले भारतसँगको सम्बन्धका बारेमा गरेको व्याख्याप्रति नै असन्तुष्टि व्यक्त गरे ।
उनले भने,‘ भारतसँगको सम्बन्ध मेरो पालामा नै सुमधुर भएको थियो । अहिलेका प्रधानमन्त्रीले सुमधुर बनाएँ भनेर दावी गर्नुभएको छ । यदि साँच्चै उनैले सुमधुर बनाएको भए बिसाखापटनम सम्झौता जस्ता मुलुकका हितमा मैलेभन्दा बढी र देश हितका पक्षमा सम्झौता गरेर देखाउनुहोस् ।’
४.चीनबाट तेल नल्याउने ?
भारतसँग आफुले गरेको सम्झौताका बारेमा उल्लेख गरेपछि अध्यक्ष ओलीले उत्तरी छिमेकी मुलुकसँग गरेको सम्झौता वर्तमान सरकारले कार्यन्वयन गर्छ कि गर्दैन भनि सशंय व्यक्त गरे ।
उनले भने, ‘हिजो प्रधानमन्त्रीको सम्बोधनमा नेपालको सिमासम्म भारतबाट पेट्रोलियम पाइपलाईन बनाउने कुरा उठाउनु भो । राम्रै हो । तर, चीनसँगको इन्धन सम्झौता कार्यन्वयनका बारेका किन केही बोल्नुभएन ? के अब एकातिरको बाटो बन्द हुँदा फेरि हाहाकारमा बस्ने ?’
५. अरुको एजेण्डा बोक्दा नाम्लो चुँडिन लाग्योे
अधिकांश समय दलका नेताहरुलाई ताक्दै भारतलाई कटाक्ष गरेका अध्यक्ष ओलीले वर्तमान सरकारले नाम्लो चुँडिनेगरी अरुको एजेण्डा बोकेको आरोप लगाए । उनले भने, ‘वर्तमान सरकार सहमतिकै पक्षमा छौ भनिरहेको त छ तर, नाम्लो चुँडिनेगरी अरुका एजेण्डा बोकेकाहरुसँग के सहमति गर्ने ? कस्तो सम्झौता गर्ने ? राष्ट्र हितलाई प्राथमिकतामा राखेर सहमति गर्ने हो भने सहमति हुन्छ ।’
६. दिप कुमार उपाध्याय कांग्रेसका दूत की नेपालको ?
आफ्नो सरकारले फिर्ता बोलाएको व्यक्तिलाई पुनः भारतकै लागि राजदूतमा नियुक्त गरिएको भन्दै अध्यक्ष ओलीले उपाध्यायलाई नेपालका तर्फबाट नभई कांग्रेसको तर्फबाट राजदूतका लागि नियुक्त गरेको आरोप लगाए । ‘कुनै पार्टी विशेषको र अझ गुट विशेषको प्रतिनिधिका रुपमा सरकार विरोधी गतिविधिमा संलग्न भएपछि सहमतिमा राजदुत फिर्ता बोलाएको होइन ? तर फेरि त्यहि व्यक्तिलाई आफ्नै नेतृत्वमा नियुक्त गरेर के गरेको ? उपाध्याय नेपालका राजदुत होइनन् ’, उनले भने ।
७.भारतले हात नहालोस्
अध्यक्ष ओलीले आफुहरु सहमतिकै पक्षमा रहेको बताए । उनले भारत, चीन, र नेपालका दलहरुबीच सहमति कायम हुनुपर्ने पनि बताए । तर उनले छिमेकीहरुसँगको सम्झौता राष्ट्रहित विपरित नहुने पनि बताए । ‘हाम्रो भारतसँग कुनै समस्या छैन । तर भारतले नेपालमा यस्सो हात नहालोस् । नेपालको सार्वभौमसत्ता स्वीकारिनुपर्छ’, उनले भने ।
८. सरकार झडप चाहन्छ
अध्यक्ष ओलीले आफुहरुले राष्ट्रहितको पक्षमा रहेर सहमति चाहेको बताए । तर अहिले सत्तासिन दलहरुको ब्यवहार हेर्दा सरकार झडपतर्फ उद्धत रहेको देखिएको ओलीको विश्लेषण छ । ‘हिजोसम्म त सरकार सहमतिकै पक्षमा छ की जस्तो लाग्थ्यो । सहमतिका सम्भावनाहरु बाँकी नै छन् जस्तो लाग्थ्यो । तर बिहिबारको प्रधानमन्त्रीको सम्बोधनले सरकार सहमति नभई झडप चाहन्छ भन्ने पुष्टि भएको छ ।
Source:Nepalipatra.com


