रामेछापमा सात वर्षदेखि पुल अलपत्र : स्थानीयले ऋण खोजेर बनाए अस्थायी पुल - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा सात वर्षदेखि पुल अलपत्र : स्थानीयले ऋण खोजेर बनाए अस्थायी पुल

रामेछापमा सात वर्षदेखि पुल अलपत्र : स्थानीयले ऋण खोजेर बनाए अस्थायी पुल

रामेछाप– राजाको प्रत्यक्ष शासनकालमा यातायातमन्त्री बनेका कमल चौलागाईंले २०५९ मा शिलान्यास गरेको ‘लुभु–गाल्वा’ सडकमा गाडी गुड्ला स्थानीय विश्वस्त थिएनन् । कुनै इन्जिनियरको नापजाँचविना भीरपहरा फोरेर निर्माण थालिएको कच्ची बाटो बेथान पुग्दा–नपुग्दै खनियापानीका केही स्थानीय भन्थे, ‘यो बाटो खनेपछि भैंसी हिँडाउन सजिलो हुने भयो ।’ ट्र्याक खुलेको केही दिनमै मुस्किलले सुनकोसीबाट तारिएका ट्रक लुभुघाटबाट उकालो लागे । ‘भैंसी हिडाउने बाटो’ भन्दै गिज्याउने चुपचाप भए ।
ramechhap bridge story (3)
बीपी राजमार्ग सडकखण्डमा पर्ने सिन्धुलीको दुम्जास्थित नेपालथोक भन्दा ठीक पारिपट्टि रहेको रामेछापका १५ गाविसमा वर्षौंअघि कच्ची सडक बने पनि सुनकोसीमा पुल नबन्दा स्थानीय बत्तीमुनिको अँध्यारोमा बाँच्न बाध्य थिए । बीपी राजमार्गमा हर्न बजाउँदै दौडने गाडीको अवाज राकाथुम र खनियापानीका घर–घरबाट सुनिन्थ्यो तर गाडी चढ्ने ठाउँमा पुग्न घन्टौं पैदल हिँड्न पथ्र्यो ।
केही दिनअघिदेखि स्थानीयले थोरै राहतको सास फेर्न थालेका छन् । स्थानीय अगुवाले ऋण खोजेर रामेछाप–सिन्धुली सिमानामा पर्ने खैरेनीघाटमा अस्थायी पुल बनाएसँगै रामेछाप–२ का १५ गाविस सिधै काठमाडौंसँग जोडिएका छन् । हिजोआज काठमाडौंबाट छुटेका गाडी अस्थायी पुल तरेर बेथान हुँदै गाल्वा पुगेर रोकिन थालेका छन् ।
गतसाता खनियापानी–९ का विदुर भण्डारी काठमाडौंमा रहेको छोरालाई फोन गरेर सिधै घरैमा आउने गाडी चढ्न आग्रह गर्दै थिए । कोटेश्वरबाट गाल्वाको गाडी चढेको उनको छोरो तीन घन्टामा आँगनमै ओर्लिए । ‘खैरेनीघाटमा अस्थायी पुल बनेपछि धेरै सुविधा भएको छ,’ भण्डारीले भने, ‘काठमाडौं पानीपँधेरोजस्तै भयो ।’
यसरी बन्यो, अस्थायी ‘कल्भर्ट’
वर्षौंदेखि खैरेनीघाटमा बन्ने भनिएको स्थायी पुल नबनेपछि स्थानीय अगुवा अस्थायी पुल बनाउन लागिपरे । ‘१५ गाविसका स्थानीयले सुविधा पाउने काम आँट्न एक÷दुईजनाले सम्भवै थिएन,’ अस्थायी पुल निर्माण समिति अध्यक्ष ठूलोकान्छा तामाङले भने, ‘रामेछाप–२ का सांसद श्यामनारायण श्रेष्ठलाई सांसद विकास कोषबाट १० लाख छुट्याउन सहमत गराएपछि हामीले काम थाल्यौं ।’
तामाङ नेतृत्वको ‘सुनकोसी–खैरेनीघाट कल्भर्ट तथा स्थायी पुल सरोकार समिति’ ले कल्भर्ट निर्माण थाल्नुअघि जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिलाई काठमाडौंको सूर्यविनायकमा भेला गराएर छलफलसमेत गरेको थियो । ‘सबै दलले सहयोग गर्ने वाचा गरेपछि हामीले काम थाल्यौं,’ अध्यक्ष तामाङले भने, ‘गएको माघ तेस्रो साताबाट निर्माण थालिएको पुल निर्माणकार्य दुई महिनाबीचमा पूरा गर्यौं ।’
ramechhap bridge story (4)
पुल निर्माणकार्य सुरु गरेपछि समितिका केही अधिकारी ऋण खोज्न थाले, कोही फिल्डमा रात दिन नभनी लागिपरे । ‘करिब ३० लाख खर्चेर पुल बनायौं,’ निर्माण समिति सदस्य मोतीलाल तामाङले भने, ‘सांदस विकास कोषबाट दिने भनिएको १० लाखले आँटेका थियौं, तेब्बर खर्च भयो ।’
लुभुघाटका व्यापारी पुल बन्न नदिने पक्षमा थिए । त्यहाँ पुल बन्दा उनीहरूको व्यापारमा धक्का लाग्थ्यो । त्यस्तै वर्षौंदेखि महँगो भाडा लिएर लुभु–गाल्वा गुड्दै आएका ट्रक र बोलेरो सञ्चालक पनि पुलको विरोधमा थिए । त्यहाँ पुल बनेपछि काठमाडौंबाट सिधा चल्ने ठूला गाडीले सरकारी भाडाडरमा यात्रु बोक्दा उनीहरू मनपरी भाडा असुल्न वञ्चित हुन्थे । ती सबैको अवरोध चिर्दै समिति पुल बनाउन सफल भयो ।
इन्जिनियर थिएनन्, आइडियाले बन्यो !

सिन्धुलीको सबैभन्दा ठूलो मन्दिर कुशेश्वर महादेव र विश्वामित्र गुफाबीचमा रहेको खैरेनीघाटमा गाडी गुड्ने अस्थायी पुल निर्माण सुरु गर्दा निर्माण समितिमा कोही इन्जिनियर थिएनन् । निर्माण समिति सदस्य मोतीलाल तामाङले ललितपुरमा रहेको राष्ट्रिय सहकारी बोर्डमा आधा दर्जन बिम त्यत्तिकै फालिएको देखेका थिए । उनले त्यो बिम पुलमाथि तेर्सो पारेर राख्ने प्रस्ताव गरे, मेसिन लगाएर कोसीको पानी दुई होलबाट बाहिर पठाए बाँकी भागमा कोसी थुनेर बाटो बनाएसँगै पुल तयार भयो । पुल बनाउन कोसी थुन्दै गर्दा पुगेका रामेछापका एलडीओ र जिल्ला इन्जिनियरले ‘यस्तो तरिकाले गाडी गुड्ने पुल बन्दैन’ भन्दै मेसिन फिर्ता गर्न आदेश दिएका थिए । तर, निर्माण समिति टसको मस भएन । ‘बीपी राजमार्ग निर्माणक्रममा जापानी कम्पनी हाज्माले यस्तै प्रविधिको पुल बनाउन खोजेको हामीले देखेका थियौं,’ मोतीलाल तामाङले भने, ‘त्यसैले कोही इन्जिनयर चाहिएन, आइडियाले काम गर्यौं ।’
ramechhap bridge story (2)
पुल निर्माणका लागि अध्यक्ष ठूलोकान्छा तामाङ, सचिव काजीबाबु खड्का, कोषाध्यक्ष सुनिता तामाङ, सदस्यहरू मोतीलाल तामाङ, फणीन्द्र योञ्जन, रमेश घिसिङ, पदम तामाङ र एकबहादुर श्रेष्ठहरू रात दिन लागिपरे । पुल निर्माणकार्यलाई खनियापानीका इलकसिंह तामाङले दिलोज्यान दिएर सहयोग गरे ।
‘वर्षौंअघिदेखिको सपनाको पुल निर्माणका गर्न भनेर लागिपर्दा धेरै मान्छेले पत्याएनन्,’ अध्यक्ष तामाङले भने, ‘कसैले सांसदले दिन लागेको १० लाख पचाउन खोजेको भनेर आलोचना गरे, कसैले ठूलोकान्छाले सपना देखेको भन्दै हिँडे तर हामी पछाडि हटेनौं ।’
ऋण खोजेर सुरु गरिएको सामाजिक कामबारे अनेक टीका–टिप्पणी हुन थालेपछि एकपटक ‘छाडौं कि क्या हो’ भन्नेमा आफूहरू पुगेको सदस्य मोतीलाल तामाङले बताए । जब पुल तयार भएर गाडी ओहोरदोहोर गर्न सक्ने अवस्थामा पुग्यो त्यतिबेला पुल निर्माण समितिले गाडीको चाप धान्नै सकेन । ०७३ वैशाख १ गते उद्घाटन गर्ने भनिएको अस्थायी पुलमा गाडीको चाप बढेसँगै चैत २९ गते उद्घाटन गरियो ।
‘उद्घाटन कार्यक्रममा उपस्थित एलडिओलगायत जिल्लास्तरीय सबै दलका नेताले पुल निर्माण समितिलाई ऋणको भारी नबोकाउने वचन दिएका छन्,’ अध्यक्ष ठूलोकान्छा तामाङले भने, ‘हामी उहाँहरूको वचन पूरा हुने प्रतीक्षामा छौं ।’
ठेकेदारको लापरबाहीले सात वर्षदेखि अलपत्र ‘स्थायी पुल’
सडक विभागले ठेक्का दिएको सात वर्ष पूरा हुँदासमेत ‘खम्पाचे शेर्पा कन्सट्रसन’को लापरबाहीका कारण अहिलेसम्म खैरेनीघाटको स्थायी पुल निर्माण हुन सकेको छैन । सात वर्षअघि पहिलो किस्ता रकम बुझेर काम थालेको ठेकेदार कम्पनीले आलटाल गरेर यत्तिका वर्ष झुलाएको भन्दै स्थानीय आक्रोशित छन् ।
ramechhap bridge story (5)
ठेक्का लिएको दोस्रो वर्ष पिल्लर राख्ने ठाउँमा ठूलो ढुंगा भेटिएको भन्दै ठेकेदारले पुलको डिजाइन परिवर्तन गर्न आग्रह गरी सडक विभागलाई पत्र लेखेको थियो । ‘डिजाइन परिवर्तन भएको यत्तिका समय बितिसक्यो अझै आलटाल गरेको देखिन्छ,’ मोतीलाल तामाङले भने, ‘पछिल्लोपटक भूकम्पका कारण देखाएर निर्माण कम्पनीले भनेजसरी काम गरेको छैन ।’
७ वर्षदेखि अलपत्र रहेको स्थायी पुल, जुन अझै पनि निर्माण हुने छाँटकाँट छैन
७ वर्षदेखि अलपत्र रहेको स्थायी पुल, जुन अझै पनि निर्माण हुने छाँटकाँट छैन
निर्माण व्यवसायीनिकट स्रोतका अनुसार खम्पाचे शेर्पा कक्ट्रक्सन सञ्चालक आङदावा शेर्पाले सो पुलका लागि लिइने रकम अन्यत्र खर्च गर्ने र त्यहाँको काम ढिलो गर्ने गरेको पाइन्छ । गत शनिवार रातोपाटी टिम खैरेनीघाट पुग्दा स्थायी पुल निर्माण जिम्मा पाएका निर्माण व्यवसायी आङदावा शेर्पा आफ्ना सहयोगीसँग गजुलीदहको एक होटलमा बसेर मदिरापान गर्दै थिए ।
सार्वजनिक बस गुड्न थालेपछि बोलेरो विस्थापित !
अस्थायी पुल बनेसँगै काठमाडौं र बनेपाबाट खाँडादेवीको गाल्वा भञ्ज्याङसम्म पुग्ने सार्वजनिक बस छुट्न थालेका छन् । वितगमा लुभुघाटबाट गाल्वासम्मको यात्रा गर्न प्रतिब्व्यक्ति आठ सय तिर्न बाध्य भएकाहरू अब काठमाडौंबाट चार सय ५० रुपैयाँ तिरेर यात्रा गर्न थालेका छन् । लुभुघाटका किराना र कपडा पसलको व्यापार घटे पनि बेथान, डहु, गाल्वा, राकाथुमतिरका पसलको व्यापार चम्किन थालेको छ । लुभुघाटमा धमाधम होटल थपिन थालेका छन् ।
‘काठमाडौंसँग सिधा सम्पर्क भएपछि यहाँका विद्यार्थिलाई सबैभन्दा बढी सुविधा भएको छ,’ पुल निर्माणका एक अगुवा मोतीलाल तामाङ भन्छन्, ‘काठमाडौंमा प्लस टु वा त्योभन्दा माथिल्लो तहमा पढ्ने विद्याथीले पनि गाउँबाटै चामल, पीठो र साग लगेर पढ्न सक्छन् ।’
सार्वजनिक बस चल्न थालेपछि लुभु–गाल्वा चल्दै आएका बोलेरो विस्थापित भएका छन् । अत्यधिक भाडा असुल्दै आएका बोलेरो चढ्न छाडेर स्थानीय ठूला बसमा चढ्न थालेका छन् । त्यस्तै पहिले ट्रकमा चढेर गाउँबंसशी गर्दै आएकाहरू पनि हिजोआज ठूला बसमा चढेर ओहोरदोहोर गर्न थालेका छन् । अस्थायी पुल बनेपछि १५ भन्दा बढी गाविसका स्थानीयको जीवनशैली परिवर्तन हुन थालेको छ ।
See more at: http://www.ratopati.com/news/47423/#sthash.gMqgchlo.dpuf
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap