सन्दर्भःसहिद सप्ताह–सम्झना विर शहीदको - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सन्दर्भःसहिद सप्ताह–सम्झना विर शहीदको

सन्दर्भःसहिद सप्ताह–सम्झना विर शहीदको

–नारायण श्रेष्ठ
“हुँदैन बिहान् मिर्मिरेमा तारा झरेर नगय
बन्दैन मुलुक दुई चार सपुत मरेर नगय
हामीले खाने प्रतेक गासमा छ रगत शहीदको
हामीले फेर्ने प्रतेक सासमा छ रगत शहीदको ।”
                         – कवि भूपी शेरचन
       माथिको कविताको पंक्तिले राष्ट्र निर्माणका लागि बलिदानीको आवश्यकतालाई दर्शाउँछ । त्यसैले राष्ट्रका लागि आफ्नो प्राणको आहुति दिनेहरूलाई शहीद भनिन्छ । 
           यस्तै शहीदको त्याग, बलिदान र संघर्षका गाथाहरू भाषणवाजीका बुँदा बन्दै गएको क्रममा यस वर्ष औपचारिक रुपमा सप्ताहव्यापी रुपमा ‘शहीद सप्ताह’ सुरु भएको छ । राणाशासनविरुद्ध जनतालाई एकजुट बनाएकोे आरोपमा मृत्युदण्ड दिइएका चार सहिदको सम्झनामा सहिद सप्ताह सुरु भएको हो । नेपालमा सहीदहरुको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ सम्म ‘शहीद दिवस’ मनाउने प्रचलन छ । यो ७ दिनको समयलाई ‘शहीद सप्ताह’ पनि भनिन्छ । अर्थात, देशमा अहिले ‘शहीद सप्ताह’ जारी छ । शहीद–देश र जनताको कल्याणका लागि स्वेच्छाले हाँसी–हाँसी जीवन उत्सर्ग गर्ने पात्र हुन, जो बलिदान, बलिदान र आदर्शका नाममा सधैँ पुजिन्छन् । शहीदकै बलिदानबाट नेपालमा १ सय ४ वर्षीय कठोर राणा, ३० वर्षे निर्दलीय पञ्चायत शासन र राजतन्त्रको अन्त्य भयो । देश र जनताका निम्ति धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरच चन्द र गंगालाल श्रेष्ठजस्ता वीर सन्तानहरुले वि.सं. १९९७ मा ज्यानको आहूति दिएका थिए ।
           यो राष्ट्रका ती उज्याला चार नक्षत्रलाई पालैपालो सूली चढाउने काम तात्कालिन शासक जुद्धशमशेरले गरे । ती नै जुद्धशमशेरको बडेमानको शालिक आज पनि काठमाडौंको नयाँ सडकको चौबाटोमा खडा छ । त्यही शालिकको पश्चिमतर्फको सडकको नाम शहीद धर्मभक्त माथेमाको नामबाट ‘धर्मपथ’ राखिएको छ । त्यस्ता वीर सन्तानलाई गोली ठोकेर मार्ने निरंकुश शासकको शालिकचाहिँ खुला सडकको माझमा छ, तर त्यही निरंकुश शासन व्यवस्थालाई खत्तम पार्ने वीर योद्धाको शालिकचाहिँ सिफलको एक कुनामा ठड्याइएको छ ।
धर्मभक्त माथेमा

     धर्मभक्त माथेमाले वि.सं. १९९३ सालमा आफ्नी फुपूको घर, ओमबहालमा ‘नेपाल प्रज्ञापरिषद्’को स्थापना गरेका थिए । 
    खास गरी निरंकुश राणा शासनविरुद्ध काम गर्नेगरी प्रज्ञापरिषद्को स्थापना गरिएको थियो । धर्मभक्त शारीरिक व्यायाममा कुशल थिए । एकपल्ट टुँडिखेलमा शारीरिक व्यायाम तथा तन्दुरुस्ती प्रदर्शन हुँदा उनी पनि सहभागी थिए । त्यहाँ उनको प्रदर्शन हेरेपछि राजा त्रिभुवन प्रभावित भए । पछि त्रिभुवनले उनलाई आफ्नो ‘व्यायाम शिक्षक’ पनि बनाए । विस्तारै प्रज्ञापरिषद् र राजा त्रिभुवनबीच सम्पर्क स्थापित भयो । १९९० सालमा धर्मभक्तको भेट दशरथ चन्दसँग भयो । चन्द पनि प्रज्ञापरिषद्को संस्थापक सदस्य बने । विस्तारै प्रज्ञापरिषद् र राजाबीच सम्पर्क बढ्दै गयो । त्यो कुरा राणहरुले थाहा पाए । पछि उनलाई १९९७ माघ १२ मा सिफलमा फाँसी दिइयो ।
शुक्रराज शास्त्री

         काठमाडौंको टेकुमा ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल’ छ । जसको नाम नेपालका अर्का शहीद शुक्रराज शास्त्रीको नामबाट राखिएको छ । 
        उनले संस्कृतमा शास्त्री उर्तीण गरेका थिए । केही वर्ष उनले भारतमा समेत प्राध्यापकको रुपमा काम गरे । पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकसम्मको पढाइ पूरा गरेपछि उनी नेपाल फर्किए । र, वि.सं. १९९३ देखि ‘नागरिक अधिकार समिति’मा बसी राणाविरुद्ध सक्रिय हुन थाले । भारतमा छँदा महात्मा गान्धीसँग भेट गरेर नेपालको राणा शासनबारे कुरा गरेका शास्त्रीलाई नेपाल आउनासाथ नजरबन्द गरियो । १९९५ मंसिर १३ मा उनले नजरबन्द तोडे । त्यसपछि काठमाडौंको इन्द्रचोकमा राणाविरुद्ध पहिलो ‘खुला आमसभा’मा सहभागी हुन सबैलाई अपिल गरे । त्यसपछि ‘राजद्रोह’को अभियोगमा राणहरुले उनलाई पक्राऊ गरी तीनवर्षे जेल सजायँ सुनाए । विभिन्न ८ वटा झुठा मुद्धा लगाई उनलाई सर्वस्वसहित फाँसीको सजायँ सुनाइयो । र, माघ १० गते राति झुण्ड्याएर मारियो ।
गंगालाल श्रेष्ठ

        काठमाडौंको बाँसबारीमा ‘गंगालाल अस्पताल’ छ । जसको नाम शहीद गंगालाल श्रेष्ठको नामबाट राखिएको हो । 
      रामेछापमा जन्मीएका गंगालाल एक कलाकार थिए । उनी ‘महावीर’ नामक संस्थामा आवद्ध थिए । त्यही संस्थामार्फत् उनी राणा शासनविरुद्ध प्रवचन दिँदै हिँड्थे । उनले वि.सं. १९९५ मा असनको इन्द्रचोकमा शुक्रराज शास्त्रीले आयोजना गरेको आमसभामा बोलेका थिए । त्यही कारणबाट उनलाई राणाहरुले समाते । र, उनी छुटे पनि । त्यसपछि उनी धर्मभक्त माथेमाको संगतमा पुगे । र, प्रज्ञापरिषद्को सदस्य बने । त्यहीँबाट उनी राणा शासनविरुद्धको अभियानमा सक्रिय हुन थाले । प्रज्ञापरिषद्को राणाविरोधी गतिविधीमा लागेको भन्दै राणाहरुले उनलाई १९९७ कार्तिक २ मा पक्राऊ गरे । १९९७ माघ १५ का दिन उनलाई दशरथ चन्दसँगै केन्द्रिय जेलबाट विष्णुमतिको बगरमा अवस्थित शोभा भगवतीमा पु¥याएर गोली हानी मारियो ।
दशरथ चन्द

       काठमाडौंको त्रिपुरेश्वमा दशरथ रंगशाला छ । जसको नाम अर्का शहीद दशरथ चन्दको नामबाट राखिएको हो ।
       जो राणा शासनविरुद्धको अभियानताका सबैभन्दा प्रखर व्यक्तित्व मानिन्थे । उनले काशीमा ‘नागरिक प्रचारिणी’ सभामा रहेर राजनीति थालेका थिए । उतिबेला भारतमा महात्मा गान्धीले सुरु गरेको ‘सत्याग्रह’मा उनी सक्रिय थिए । वि.सं १९९० मा उनी नेपालको बारा जिल्ला आए । त्यहाँ उनले टंकप्रसाद आचार्यसँग भेटे । त्यो समयसम्म आईपुग्दा नेपालमा राणा शासनविरुद्ध एकप्रकारको चेतना पैदा भइसकेको थियो । १९९१ मा उनी एक सहयोगीका साथ वर्मा हुँदै थाइल्याण्ड पुगे । त्यहीँ बस्दा उनले नेपालमा ‘राणाविरुद्ध सशस्त्र क्रान्ति’ गर्ने योजना बनाएका थिए । नेपाल फर्किएपछि उनले घोषित रुपमै राणावरोधी लेखहरु लेख्न थाले । उनी नेपाल प्रज्ञापरिषद्को सदस्य पनि भइसकेका थिए । उनीलाई पनि ‘राजद्रोह’को अभियोगमा फक्राऊ गरियो । चन्द र अर्का शहीद गंगालाल श्रेष्ठ जेलमा एउटै कोठामा परेका थिए । १९९७ माघ १५ मा उनलाई राणाहरुले गंगालालसँगै शोभा भगवतीमा गोली हानेर मारे ।
        नेपालमा जाहानिय राणा शासन अन्त्य गर्न यी चार सहिदहरुको भुमिका महत्व पुर्ण रह्यो । 
     त्यस्तै एक तन्त्रात्मक राजकीय शासनको अन्त्य गर्न १० बर्षे जनयुद्धमा हजारौ सहिदहरुले बलिदान गरेको हामिले स्मरण गर्नै पर्छ । अहिले हाम्रो नेपाल र हामि नेपालि भन्न पाईरहेका छौ, यो देन तिनै शहिदहरु लाई जान्छ । देश यो परिस्थीति सम्म आईपुग्दा हजारौ शहिदहरुले बलिदान दिए जिबन दान दिए । ति सहिदहरुले नेपाललाई सुन्दर,शान्त र  बिशाल देख्न चाहेका थिए । तर अहिलेको नेपाल कत्तीको सुन्दर छ ? कत्तीको शान्त छ अनि कत्तीको बिशाल छ यस बिषयमा प्रश्न चिन्ह खडा भएको  छ । देसमा गणतन्त्र आयो । संबिधान बन्यो । देश प्रान्तीय साशन तिर जादैछ । यस बिचमा संबिधान बनाउन देशले भारतिय नाकाबन्दी पनि खेप्नु प¥यो । देस भित्रै पनि काटाकाट र मारामारको अवस्था आयो । मधेश केन्द्रीत दलहरुले मधेसी मार्चा खडा गरि संबिधान बिरुद्ध आन्दोलन गरीरहेका छन । यस बिचमा पनि धेरैले ज्यान गुमाएका छन । आन्दोलनको नाममा धेरै निर्दाेश नागरीक मारीएका छन देसको सुरक्षार्थ खटिएका प्रहरीहरुको पनि ज्यान लिइएको छ । 
           के राणा शासन  बिरुद्ध साहादात प्रप्त गरेका सहिदहरु,२०६२÷६३ को जनआन्दोलनका शहिदहरुले नेपालाई यहि अबस्थामा देख्न चाहेका थिए त ?
        माघ १६ गते शहिद दिवस । औपचारिकतामा सीमित शहीद दिवसले कसैलाई झक्झक्याएको पनि छैन । 
    किनभने आज दलपिच्छेका शहीद, जातपिच्छेका शहीद, सम्प्रदायपिच्छेका शहीदको लर्को लागेको छ । १०४ वर्षे जहानियाँ राणा शासनका बिरुद्ध विद्रोहको बिगुल फुक्ने र आफ्नो जीवन हाँसीहाँसी उत्सर्ग गर्ने प्रातःस्मरणीय चारजना शहीदहरूलाई गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीको त्याग, तपस्या, योगदान र उत्कर्षको चर्चाले देशभक्त नेपालीको शिर सधैं निहुरिन्छ तर राजनीति गर्नेहरूले शहीदको सम्मान हुने गरी आफूलाई होम्न सकेका छैनन् ।
शहीदहरूको बलिदानकै कारण मुलुकबाट १०४ वर्षे जहानियाँ शासनको अन्त्य सम्भव भयो । तिनकाबिरुद्ध सुरु भएको २००७ सालको क्रान्ति सफल भएपछि मात्र नेपालीले प्रजातन्त्रको मिर्मिरे बिहानी देख्ने अवसर पाए । निश्चय नै मुलुकमा प्रजातन्त्र ल्याउन धेरै नेपालीले सहादत प्राप्त गरेका छन् तर शहीदकै प्रेरणाबाट यो संभव भएको हो । त्यसैले ती महान शहीदहरू नेपाली जनताको ढुकढुकी बनेका छन् । त्यही भएर जनताले उनीहरूको सम्मान गर्छन, श्रद्धा गर्छन् र स्मरण गरिरहन्छन् । हुन पनि आफू मरेर मुलुक र मुलुकबासीलाई बचाउने र जगाउने क्रान्तिका महान योद्धाहरूको सम्झना गर्नु प्रत्येक नागरिकको दायित्व हो । मुलुकमा जनताको शासन कायम होस, सबैले गरिखान पाउन, शान्ति–सुव्यवस्था कायम होस् भनेर आफूलाई क्रान्तिमा होम्ने शहीदहरूको सम्झना राजनीतिक दल, शासक–प्रशासक सबैले गर्नुपर्छ र उनीहरूको त्याग, समर्पण र बलिदानीलाई प्रेरणा ठानेर राष्ट्र निर्माणमा होमिनुपर्छ तर अहिलेको परिस्थिति अर्कै छ । शहीदको नाममा घोर अपमानजनक कार्यहरू भैरहेका छन् । 
         कुनै कारणबस मृत्यु भएकालाई समेत शहीद घोषणा गराएर राज्यका तर्फबाट १० लाख रुपैयाँ दिलाउने काम गरिन्छ । 
      शहीदको जीवनको मूल्य १० लाख हो ? 
पक्कै पनि होइन ।
   मुलुकका लागि कुनै सम्झौता नगरेर जीवन उत्सर्ग गर्ने शहीदहरूको कोटीमा अहिलेका आधुनिक शहीदहरू पुग्न सक्लान ? 
पक्कै पनि त्यस्तो कल्पना नै बेकार छ र त्यस्तो मूल्यांकन गर्नु मुर्खता मात्र हो । 
     तापनि राजनीतिक तहबाट त्यस्तै कार्य भैरहेको छ । भाषणका शब्दै पिच्छे शहीदको नाम लिनेहरूले शहीदको परिभाषा नै बदलिदिएका छन् । त्यसैले जनतामा राजनीतिक चेतानाको दियो सल्काएर नागरिक अधिकार बहालीका लागि क्रान्तिमा होम्ने र आफूलाई पनि त्यसैमा समाहित गरी ज्यानको आहुति दिने शहीदहरूको सम्झना गर्नेहरूको संख्या घट्दैछ । 
मुलुकलाई जहानिया राणा शासनको पञ्जाबाट मुक्त गर्न ज्यानको बाजी लगाउने चार महान शहीद नै नेपालका सम्पूर्ण शहीदहरूको बडाशहीद हुन् । अर्कोतिर राजनीतिक घटनाक्रमका विभिन्न कालखण्डमा शहीद हुन पुगेका व्यक्तिहरू र शहीद घोषित मृत आत्माहरूमध्ये कतिपय मुलुकको हितका लागि मृत्युवरण गर्न पुगेका थिए भने कतिपय भवितव्यलाई समेत राजनीतिक दबाबका कारण शहीद घोषणा गरिएको छ । जे होस् शहीदको सम्मान दिइसकेपछि त्यसलाई राष्ट्रले स्वीकार गर्नैपर्छ । उनीहरूको स्मरण र उनीहरूमा रहेको राजनीतिक–क्रान्तिकारी सोचलाई व्यवहारमा उतार्ने प्रयास गर्ने हो भने मात्र शहीदहरूको सम्मान हुनेछ । तर यतिबेला शहीदको योगदान भाषणवीरहरूको अनर्थ प्रलापको एउटा पाटो मात्र बनिरहेको छ । 
सरकारी तथ्यांक नै हेर्दा नेपालमा आजसम्म चारजना शहीदबाहेक १ सय २७ जना शहीदहरु देखिन्छन् । गृह मन्त्रालयको वेबसाइटमा ‘०६२÷६३ सालपछि नेपाल सरकारबाट शहीद घोषणा भएका व्यक्तिहरु’को सूचीमा उक्त तथ्यांक छ । त्यहाँ शहीदहरुको ‘प्रकृति’ पनि छुट्याइएको छ । यसको अर्थ ती कस्ता–कस्ता शहीदहरु हुन् भन्ने अर्थबाट सहीदहरुको ‘वर्गीकरण’ गरिएको हो । जसअनुसार जनआन्दोलनका शहीद, निजामति कर्मचारी शहीद, कृषि अनुसन्धानको शहीद, वित्तिय कर्मचारी शहीद, शिक्षक सहीद, संस्थान कर्मचारी शहीद, मधेस आन्दोलनका शहीद, नेपाल प्रहरीका शहीद, सशस्त्र प्रहरीका शहीद, धार्मिक शहीद, स्थानीय निकायको कर्मचारी शहीद, लिम्बूवान आन्दोलनका शहीद, पत्रकार सहीद, संविधानसभा निर्वाचनको शहीद, विद्यार्थी शहीद र ‘शहीद’ छन् ।
शहीदको फायल कहाँ छ ?
       पछिल्लो समयमा नेपालमा जथाभावी रुपमा शहीद घोषणा गर्ने परिपाटी बसेको छ । 
     तर, यसरी बिनामापदण्ड शहीद घोषणा गर्दा देश र जनताको कल्याणका निम्ति ज्यान अर्पण गर्ने वास्तविक शहीद र तिनको बलिदानको ‘अवमूल्यन’ हुने सर्वत्र आमगुनासो बढ्न थालेपछि तात्कालिन सरकारले ०६८ फागुन ४ गते नवराज सुवेदीको संयोजकत्वमा ‘शहीदको परिभाषा तथा घोषणाका मापदण्ड निर्धारण अध्ययन कार्यदल’ गठन गरेको थियो । तीन महिना लगाएर सो कार्य दलले आफ्नो प्रतिवेदन पूरा गरेर प्रधानमन्त्रिलाई बुझायो पनि । उक्त उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा आउन नसकी आजसम्म पनि गृह मन्त्रालयको फायलमै थन्किएर बसेको छ ।
ती शहीद होइनन् ?
२००७ सालदेखि ०५२ सम्ममा नेपालमा कतिले रगत बगाए, कतिले ज्यान गुमाए, त्यसको वास्तविक तथ्यांक आजसम्म छैन । राजनीतिक आन्दोलन वा युद्धका कारण कति मारिए, त्यसको पनि विवरण छैन । योभन्दा परतिर गएर हेर्ने हो भने देश र जनताका लागि अगाढि बढ्दा सार्वजनिक रुपमा फाँसी चढेका, गोली थापेर मरेका आदर्श सहीदहरुकै विवरण छैन । बरु, राजनीतिक घटना, दुर्घटना, अन्य कारणबाट मरेका÷मारिएकाहरुलाई १० लाखको रेटमा थुप्रैलाई शहीद घोषणा गरियो, पछिल्ला केही वर्षहरुमा । तर, इतिहासका अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बहादुर शाह, दामोदर पाँडे, कालु पाण्डे, अभिमानसिंह बस्नेतजस्ता व्यक्तिहरु आजसम्म शहीद हुन सकेका छैनन् । 
द्वन्द्वकालका शहीद
वि.सं. २०५२ साल फागुन १ गतेदेखि तात्कालिक विद्रोही नेकपा (माओवादी) र राज्य पक्षबीच सुरु भएको सशस्त्र युद्धमा कति मानिस मारिए, त्यसको तथ्यांक अहिले पनि छैन । शान्ति तथा पुर्न्निर्माण मन्त्रालयको वेबसाइटमा ‘सशस्त्र द्वन्द्वमा परी मृत्यु भएर शहीद घोषणाका लागि सिफारिस गरिएका व्यक्तिको नामावली’ शीर्षकमा ६ सय २७ जनाको नाम उल्लेख छ । त्यतिबेला मनाङ र मुस्ताङ जिल्लामा कसैले मर्नु परेन । तर, अरु ठाउँमा हजारौं नेपालीले ज्यान गुमाए । परन्तु, द्वन्द्वकालमा विद्रोही र राज्यपक्षबाट जम्मा कति नागरिकले शाहादत प्राप्त गरे, त्यसको वास्तविक तथ्यांक अहिले पनि पाइँदैन । मोटामोटी १७ हजार नागरिकले द्वन्द्वकालमा ज्यान गुमाएको अपुष्ट तथ्यांकमात्रै सुनाइन्छ, जुन अपुष्ट तथ्यांक हो ।
यसरी शहीदहरूको परिभाषा फेरिएका छन,उनीहरूको योगदान बदलिएको छ । हिजो राष्ट्रका लागि मर्नेहरूको स्थान नेताको सुख–सुविधा र कुनै पार्टी विशेषको स्वार्थका लागि मरेकाहरूले लिन थालेका छन् । अहिलेको विडम्वना यही हो । जबसम्म राष्ट्रका लागि सच्चा हृदयले संघर्ष गर्ने र हाँसी हाँसी आफ्नो प्राणको आहुति दिने शहीदहरूको सम्मान हुँदैन तवसम्म मुलुकको अवस्था जस्ताको तस्तै रहनेछ । असंगठित जनतालाई संगठित गर्दै, चेतना फैलाउँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई आत्मसात गर्दै सार्वभौम राष्ट्रका सार्वभौमसत्ता सम्पन्न नागरिकको रुपमा स्वाभिमानसाथ बाँच्न पाउने वातावरण निर्माणका लागि आफ्नो प्राण अर्पण गर्ने ती महान शहीदहरूलाई यो राष्ट्रको स्वतन्त्र अस्तित्वको श्रेय दिन हच्किनुपर्ने कुनै कारण छैन । राष्ट्रिय स्वतन्त्रता र अखण्डताको पक्षमा गर्जेका आवाजहरूलाई राणाशाहीले बन्द गर्ने चेष्टा गरे पनि त्यसले जनतालाई अजेय शक्ति प्रदान गर्यो । चार शहीदले मृत्युवरण गरेर जनतालाई क्रान्तिको चेतना प्रदान गरे– संगठित राजनीतिक आन्दोलनको वीजारोपण समेत गरे । त्यसैको परिणाम हो २००७ सालको परिवर्तन । त्यही समयबाट सल्कियो मुलुकमा राजनीतिक चेतनाको दियो । यसपछि मुलुकमा अनेक राजनीतिक परिवर्तन भयो ।
विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झना यसबीचमा गरिनुपर्छ । वर्षको एकपटक शहीदको सम्झना गरेर मात्र पुग्दैन । शहीदको बलिदानीको अमर कथा राष्ट्रनिर्माण गरेर लेखिनुपर्छ । राष्ट्रिय जागरणको अमूल्य ग्रन्थको रुपमा शहीदका वीरगाथाहरूको शब्दचित्र उतारेर जनताको घरघरमा पुर्याउनुपर्छ । राष्ट्र निर्माणको यो घडीमा हामीले वीर योद्धाहरूको सम्झना गरेनौं भने, उनीहरूको त्याग र बलिदानीको कदर गरेनौं भने हामी विजयी हुन सक्दैनौं र हामी बारम्बार पराजित मात्र भैरहनेछौं । अहिलेको अग्रसरता सबै पराजित हुने दिशातिरै देखिएको छ । राष्ट्रिय एकता र सार्वभौमिक अखण्डताको ख्याल नगरेर कुनै नेताको लहड वा कुण्ठालाई राजनीतिक विषयवस्तु बनाएर मुलुकलाई नै टुक्रा टुक्रामा विभाजित गर्ने र राष्ट्र कमजोर बनाउने सोच शहीदहरूको पक्कै थिएन होला । 
शहीदको अर्थ, परिभाषा र उनीहरूको योगदानको कदर हुनुको साटो उनीहरूलाई राजनीतिक दलको झण्डा ओढाउने र बिल्ला भिराउने प्रतिस्पर्धा हुन थालेपछि उनीहरूको योगदान विस्मृतिमा पर्छ नै । अहिले यस्तै भएको छ । उनीहरूले दिएको योगदानको चर्चा भने गरिन्छ तर त्यसको अनुशरण गर्ने कहिल्यै प्रयास भएन । नेपाल र नेपालीलाई निरंकुशताको कालो छायाँबाट मुक्त गराउन शहीदहरूले आफ्नो प्राणको आहुति दिए । त्यसै गरी विभिन्न कालखण्डमा धेरै शहीद बनिसकेका छन । कति ज्ञात छन् त कति अज्ञात नै । कति जाने बुझेर शहीद भए त कति अन्जानमै । यी सबै ज्ञात अज्ञात योद्धाहरू राजनीतिक दलका नेताहरूको बेलाबेलामा भाषणको विषय र पात्र मात्र बनिरहेका छन् ।
शहीदको सम्मान कहिले ?
         दुर्घटना, राजनीतिक झडप, अन्य बहानामा मारिएकाहरुलाई शहीद घोषण गर्दै जाने हो भने ‘शहीद’को आदर्श र मूल्य के रहन्छ ? 
    त्यतिखेर हिजो देश र जनताका नामा हाँसी–हाँसी जीवन त्यागेका असली शहीदहरुको रगतले हामीलाई पोल्छ कि पोल्दैन ? उनीहरुविरुद्ध हुर्किरहेको यो अपमानजन्य प्रवृत्तिले हाम्रो मुटुलाई दुखाउँछ कि दुखाउँदैन ? के यसरी शहीदको उचित सम्मान हुन्छ ? अरुबेला शहीदका सपना र बलिदानलाई बिर्सिएर बर्ष्दिनमा एकपल्ट ‘शहीद दिवस’ मनाउँदैमा र उनीहरुको शालिकमा फूलमाला लगाउँदैमा शहीदहरुप्रतिको उचित सम्मान हुन्छ ? यसबारे सोच्न ढिला भइसकेको छ ।

       जे भएपनि देश र जनताको लागि आफनो जिवनलाई आहुति दिएका ज्ञात अज्ञात शहिदहरु प्रति सलाम छ । सहीदहरु तिम्रो सपना अझै पुरा भएको छैन । तर एक दिन अवस्य पुरा हुनेछ आशा गरौ त्यो दिन चाडै आउने छ । बिजयको दिन । जय देश जय नेपाल ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap