असोज २०, रामेछाप
६१ औं प्रहरी दिवस, बिहीबार देशभर विविध कार्यक्रम गरि मनाइएको छ । प्रहरी दिवस रामेछापमा पनि एक भव्य समारोह गरी मनाईएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित राजनैतिकदल लगायत सबै क्षेत्रका सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्लाको शान्ति सुव्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायहरुबिच आवश्यक समन्वय भईरहेको जानकारी दिँदै नागरिक समाज र समुदायका अगुवाहरुले पनि विषेश भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रजिअ अधिकारीले प्रहरीले आफ्ना गतिविधिलाई निष्पक्ष रुपमा सम्पादन गर्नुपर्ने बताउँदै प्रहरी नै आम नागरिकको सुरक्षाको पहिलो शक्ति भएको बताउनुभयो ।
अधिकारीले नेपालीहरुको महान चाड दशै तिहार र छडका अवसरमा शुभकामना दिदै मुलुकमा शान्ति सुव्यवस्था र अमन चयन कायम गर्नका लागी नेपाल प्रहरीले ठुलो भुमिका खेली रहेको बताए । उनले प्रहरीले विभिन्न समयमा गर्ने यस्ता खालका कार्यकक्रमले प्रहरी र नागरीक बिचको दुरी घट्ने र सम्बन्ध सुमधुर हुदै जाने बताए ।
कार्यक्रममा बोल्दैै रामेछापका प्रहरी प्रमुख कुमोद ढुंगेलले चाडबाडका समयमा हुन सक्ने घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा ब्यवस्थामा कडाई गरिएको पनि बताए । प्रहरीले महसुस गर्नेखालको शान्ति सुरक्षा दिनका लागी नागरिकले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै अन्य सहभागिहरुले नेपाल प्रहरीको सेवा नागरिकमैत्री हुनुपर्नेमा जोड दिएका छन् । समाजमा हु्ने सवैखाले घटनाहरुसँग प्रहरीको सिधा सरोकार हुने भएकाले प्रहरीले निष्पक्ष र तटस्थ भएर काम गर्नुपर्ने बताएका हुन् । अनेकौँ चुनौती रहेको ओखलढुंगामा पर्याप्त जनशक्ती नरहेको अवस्थामा पनि प्रहरीले दिईरहेको सेवा निकै प्रभावकारी रहेको भन्दै कार्यक्रमका सबैजसो वत्ताहरुले प्रहरी सेवाको प्रशंसा गरेका थिए ।
प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिएको छ । यस्तै प्रहरी दिवसकै अवसरमा मंगलबार रामेछापको सदरमुकामका विभिन्न बजार क्षेत्रमा सरसफाई समेत गरिएको थियो ।

