मन्थली। ‘अंकल मेरो फोटो क्यामेराबाट डिलिट गर्दिनु ल’? मन्थलीस्थित तामाकोसी किनारमा गिट्टी कुट्दै गरेकी दश वर्षीया बन्दना माझीले अनुरोध गरिन्। उनले फोटोका बारेमा सोधिन्, फोटो हेरिन् र डिलिट गरिदिन आग्रह गरिन्। उनको आग्रहले मलाई कौतुहल बनायो र सोधें किन निरु उनले मुस्कुराउँदै फेरि सोधिन् ‘यो फोटो मन्थलीमा छाप्ने होरु’ मैले भनें होइन। त्यसपछि उनीहरू मसँग गफ गर्न तम्सिए।
बन्दनामात्र होइन उनका अन्य साथीहरू पनि गिट्टी कुट्दै थिए। बन्दनाले भनिन् ‘हिजोआज स्कूल विदा छ, विदाका बेला कोसीमा पौडी पनि खेल्ने र गिट्टी पनि कुट्ने।’ उनले थपिन् ‘गिट्टी मैलेमात्र कुट्ने होइन क्या, ममी र दाइले पनि कुट्छ।’ उनीहरूले कुटेको गिट्टी कोसी किनारबाटै ५ हजार रुपैयाँ ट्रिपमा बिक्री हुन्छ। परिवारका सवै मिलेर गिट्टी कुटेपछि ट्रिप छिटो पुग्ने उनीहरूले बताए।
बन्दनासँगै भेटिएकी आठ वर्षीया सर्मिला माझीले भनिन् ‘एक ट्रिपको ५ हजार आउँछ, ममीले फुर्सद भएका बेला गिटी कुट्नुहुन्छ, दाइले पनि कुट्छ र म पनि कुट्छु।’ उनले यसरी गिट्टी बेचेको पैसाले नयाँ लुगा, कापी, किताब र स्कूल ड्रेस सिलाउने बताइन्। सर्मिलाले भनिन् ‘एक ट्रिप गिटीको ५ हजार रुपैयाँ आउँछ, अनि हामी यो पैसाले नयाँ लुगा किनेर स्कूल जान्छौं, कापी, पेन्सिल पनि किन्दिनु हुन्छ ममीले।’
ममी, दाई र उनी मिलेर कुटेपछि गिट्टी एक ट्रिप पुग्ने कुरा दश वर्षीया जानुका माझीले बताइन्। उनले भनिन् ‘म, ममी र दाईले गिटी कुट्छौं, स्कुल छुट्टी भयो भने हामी गिटी कुट्न आउँछौं।’ स्कुल बेलुका छुट्टी भएपछि यी वालवालिकाले आफ्ना बाबु आमालाई खाजा लिएर आउने र त्यसपछि गिट्टी कुट्ने गरेको बताए।
कामै गर्न भन्दा पनि कोसीमा पौडी खेल्न आउने गरेको जानुकाले बताइन्। जानुकाले आमाले घरमा खाना पकाउने, खेतमा काम गर्ने र अघिपछि गिट्टी कुट्ने गरेको बताइन्।
कोसी किनारमा हामी पुग्दा उनीहरूका अविभावक भने थिएनन्। कोही गिट्टी कुटीरहेको थिए भने कोही पौडी खेलिरहेका। जानुकाले भनिन् ‘हामीलाई पौडी खेल्न डर लाग्दैन, गिटी कुट्न पनि डर लाग्दैन।’
कोसी किनारमा दैनिक झण्डै १५ देखि २० जना बालबालिका यसरी गिटी कुट्न, पौडी खेल्न र माछा मार्न आउँछन्। माछा मार्ने उनीहरूको पुर्ख्यौली पेशा हो, तर गिटी कुट्ने ठाउँमा भेटिएका केही वालवालिकाका वुवाले ट्याक्टर चलाउन थालेपछि उनीहरू गिटी कुट्ने कामप्रति आकर्षित भएको पाइयो। गिटी कुट्दै गरेका १४ वर्षीय सुदिप माझीले भने ‘वुवा ट्याक्टर चलाउनुहुन्छ, गिट्टी, ढुंगा ओसार्नुहुन्छ। हामी त यहीँ माछा मार्ने हो, गिट्टी कुट्ने हो, पौडी पनि खेल्ने हो।’
फुर्सदका बेला यस्तो काम गर्ने गरेको उनीहरूले बताए। पौडी खेल्न र गिट्टी कुट्न त डर नलाग्ने बताइरहेका उनीहरू फोटो कतै छापियो भने गाल पर्ने हो की भनेर डराइरहेका थिए। जानुकाले भनिन् ‘अब तपाईंले खिचेको फोटो कसैले देख्यो भने हामीलाई गाली गर्ला है ’
यो फीचर महिला खबर डिजिटल पत्रिका बाट साभार गरीएको हो ।–सम्पादक




