साउन २६ गते,रामेछाप
राष्ट्रीय युवा परीषदका उपाध्यक्ष माधब ढुंगेलले नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकास नभए सम्म देशको विकास सम्भव नभएको बताउनु भएको छ । कृषि क्षेत्रको बिकास गर्नको लागी युवा शक्ती परचिालन गर्नुपर्ने उहाको भनाई थियो ।रामेछापको मन्थलीमा हिजोबाट सुरु भएको चौथो युवा सम्मेलन २०७३ को उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो ।
उहाँले नेपालमा ५५ लाख हेक्टर जमिन खेति गर्न योग्य रहेकोले उक्त जमिनमा दैनिक उपभोग्य बस्तुहरु आफैले उत्पादन गर्न सके देशको विकासले गति लिने बताउनुभयो । उहाँले आफ्नै देशको प्राकृतिक स्रोत र साधनलाई उपयोग गर्न सके नेपालका युवाहरु रोजगारीका लागि विदेश जान नपर्ने बताउनुभयो ।
उपाध्यक्ष ढुङगेलले कृषि क्षेत्र विकासका लागी राज्यले दिने शिक्षालाई व्यवहारीक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रसंग सम्बन्धीत विभिन्न यान्त्रीक उपकरणहरुको अन्य देशमा विकास भएजस्तै नेपालमा पनि त्यस्तो प्रबिधि भित्राएर आधुनिक खेती प्रणलिको बिकास गर्नुपर्ने उहाले बताउनुभयो ।
उहाँले विदेशमा गएर रगत र पसिना बगाउने नेपाली युवाले देशमा लाज नमानी काम गर्न सके युवालेनै देश विकास गरी समृद्ध बनाउन सक्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद एउटामात्र राजनितिक दलको नभई सबैको साझा भएको उहाको भनाई थियो । उहाँले परिषदको नेतृत्वमा पुग्न राजनैतिक दलमार्फतनै पुग्नुपर्ने भएपनि नेतृत्वमा पुगेपछि दल गत कुरा र काम नहुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद् जिल्ला समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीले रामेछापमा युवा परिषद भर्खरै गठन भएकाले युवा लक्षित कार्यक्रमहरुका बारेमा योजना बनाउदै गरेको बताउनुभयो । उहाँले रामेछाप पनि युवा शक्तिहरु पर्याप्त भएकोले त्यस्ता शक्तिहरुलाई सहि ठाँउमा प्रयोग र परिचालन गर्न सके देश विकासमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बिभिन्न राजनैतिकदलका पार्टी प्रतिनिधि,युवा अभियन्ता,समाजसेवि लगायतले देसको बिकास गर्न सुरुमा युवाहरुको नेतृत्व बिकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रमा सक्रीय भई सफल भएका युवाहरुलाई सम्मान पत्र प्रदान गरीएको थियो । गरीवी उन्मुलनमा युवा प्रतिवद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नाराको साथ हिजोबाट सुरु भएको चौथो युवा सम्मेलन २८ गते शुक्रबारसम्म चल्ने आयोजकले जनाएको छ ।
साझेदारी संघसस्थाहरु









