काठमाडौं / मानव स्वास्थ्य माथि ठूलो खेलबाड हुने गरेको तथ्य फेरि एक पटक हामी माझ उजागर भएको छ । खाद्य क्षेत्रमा हुने गरेको स्वास्थ्यहीत विपरीत कार्यको पछिल्लो उदाहरण बनेको छ–सर्लाहीमा भेटिएको ड्युको बोतल भित्रको सर्प । बरुण वेभेरेज नेपाल प्रा.लि.द्वारा उत्पादित चिसो पिय पदार्थ माउन्टेन ड्युको बोतल भित्र सर्प जस्तो देखिने बस्तु भेटिएको हो । लामो आकारको सो बस्तु सर्प नै हो भनेर किटान गर्न नसकिएपनि अनुमान भने प्रशस्तै गर्न सकिन्छ ।
मानव स्वास्थ्यमाथि गम्भीर असर पर्ने गरी चिसो पिय पदार्थमा भेटिएको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्ता विभिन्न बस्तु भेटिने गरेका छन् । तर, नत प्रशासन न उद्योगीहरु नै सचेत र जिम्मेवार बन्छन । र त दोहोरिरहन्छन् यस्ता घटनाहरु । हरिवनको इलाका प्रसाशन कार्यालय अगाडी रहेको एक होटलमा राष्ट्रिय फुटबल खेलाडि जुमानु राईका बुवा जितेन्द्र राईले ड्युको बोतल हातमा लिएर सिल्ड खोल्न खोज्दा बोतल भित्र केहि लामो बस्तु बाहिरैबाट देखेपछि यो घटना सार्वजनिक भएको हो । मानव स्वास्थ्य माथि गम्भीर अपराध गर्ने बरुण वेभेरेज जस्ता कम्पनिहरुले सधैं उन्मुक्ति पाउने गरेका छन् । र त अहिले पनि सो कम्पनि माथि कारबाही हुनेमा स्थानीय विश्वास गर्दैनन् ।

ड्युको बोतल भित्र सर्प जस्तो देखिने उक्त बस्तु भेटिएपछि मिडिया एनपीले डियुका एरिया इन्चार्ज लिला दाहालसँग प्रतिक्रिया लिन खोज्दा ‘सबैलाई जवाफ दिइरहन नसक्ने’ भन्दै गैरजिम्मेवार जवाफ दिए । केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझ्न भन्दै दाहाल पन्छिए । त्यसपछि मिडिया एनपीले केन्द्रीय कार्यालयको फोन नम्बर ४९९०९०९ मा सम्पर्क गर्दा कर्मचारीहरु यसबारे बोल्नै चाहेनन् ।
मानव स्वास्थ्यको संरक्षण गर्नका लागि विभिन्न सरकारी कार्यालयहरु गाउँ देखि शहरसम्म स्थापना भएका छन् । तर, खाद्यबस्तुहरुमा वर्षेनी भेटिने यस्ता बस्तु तथा मिसावटमा भने अझै कमी आउन सकेको छैन । जसले गर्दा मानव स्वास्थ्यमा गम्भीर प्रकृतिको समस्या देखिने निश्चित छ ।

