रामेछाप । चैत्र १४ गते- रामेछापको सदरमुकाम मन्थलीमा आज एक कार्यक्रम गरी नेपाल आदिबासी जनजाती नगर समन्वय समिति मन्थली गठन गरीएको छ ।
पहिले आदिबासी जनजाती मन्थलि गाउ समन्वय समिती रहेकोमा मन्थलि गाविस नगरपालिकामा परिणत भएकोले उक्त समिती बिघटन गरी नगर समन्वय समिती मन्थलि गठन गरीएको हो । नबगठित नगर समन्वय समितीमा अध्यक्षमा शिब कुमार श्रेष्ठ, उपाध्यक्षमा मनिता श्रेष्ठ, सचिबमा पुर्ण बहादुर माझी, कोषध्यक्षमा उमा भुजेल सहीत १५ सदस्यीय कार्य समिती चयन गरीएको छ ।
यसैबिच रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठले नेपालको वर्तमान संविधान दक्षिण एशियाकै सबैभन्दा उत्कृष्ट संविधान भएको बताउनु भएको छ ।
संविधानले समानुपातिक समावेशीताको शिद्धान्तलाई अंगिकार गरेको श्रेष्ठले बताउनु भयो । आदिवासी जनजाति मन्थली नगर समन्वय परिषदले आइतबार सदरमुकाम मन्थलीमा आयोजना गरेको आदिवासी जनजातिको लागि राष्ट्रिय अन्तराष्ट्रिय कानूनी अधिकार विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको संविधान जारी गरेकोमा भारत बाहेक विश्वका सबै शुभेच्छुक राष्ट्रहरुले स्वागत गरेको बताउनु भयो । संविधानमा जातिय तथा लैंङिक विभेद हटाउन स्पष्ट रुपमा उल्लेख गरिएको उहाँले बताउनु भयो । उहाँले जनजाति, महिला, दलित वा अन्य कुनै पछाडी पारिएको समुदायले अधिकार पाउदा अरु कसैको अधिकार नखोसिने पनि प्रष्ट पार्नु भयोे ।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले स्थानीय निकायको निर्वाचन जरुरी भएपनि अबको निर्वाचन नयाँ संविधानले गरेको व्यवस्था अनुसार हुनु पर्ने बताउनु भयो । संघिय संरचनामा २०४९ को जस्तो स्थानीय निकायको निर्वाचन गरेर अर्थ नहुने उहाँको भनाई थियो ।

मन्थलि गाउ समन्वय समितीका पुर्ब अध्यक्ष लाल बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब सभाषद तारानारायण श्रेष्ठ बिगुल ,आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष खड्गबहादुर आले, एनेकपा माओवादीका शेरबहादुर खड्का, राप्रपा नेपालका अध्यक्ष मणिराज लामा लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा आदिवासी जनजातिहरुको लागि व्यवस्था गरिएको राष्ट्रिय अन्तराष्ट्रिय कानून, नेपालको संवैधानिक व्यवस्था, आदिवासी जनजातिका समस्या, समाधानका उपाय लगायतको विषयमा अधिवक्ता बीचारसिंह दोङले सहजिकरण गर्नु भएको थियो ।

