Home »
» रामेछापमा बाक्लो हिमपात, जनजीवन कष्टकर
रामेछापमा बाक्लो हिमपात, जनजीवन कष्टकर
माघ ६, २०७२
मंगलबार भएको बर्षा सगैं रामेछापका उच्च पहाडि क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै अत्याधिक चिसो बढेको छ । हिमपात बुधबार अपरान्ह देखि फेरि सुरु भएको छ ।
गुम्लेलको लाहाछेवरमा मंगलबार र वुधबार अपरान्ह परेको हिमपातले जनजिवन कष्टकर बनेको छ । स्थानीय फुगेल्जेन शेर्पाका अनुसार हिमपात सगैं बढेको चिसोले कोहि बाहिर निस्कन सकेका छैनन् । क्यामा, छेवर, सेर्दिङ क्षेत्रमा हिउ झर्ने क्रम बुधबार सांझ सम्म रोकिएको छ । बर्षा र चिसो सिरेटो समेत लागेकाले सर्वसाधारण दुइ देखि घर बाहिर निस्केका छैनन् ।
वाम्तीको देउराली र थोदुङ क्षेत्रमा पनि हिमपात भएको छ । स्थानीय बाबुकाजी शेर्पाका अनुसार मंगलबार सांझ हिमपात भएपछि जाडो अत्याधिक बढेको छ । वाहिर ठिहिर्याउने जाडो छ शेर्पाले टेलिफोनमा भने - हामी भित्र आगो तापेर वसीरहेका छौं । मंगलबार र बुधबार भएको बर्षाले लेक क्षेत्रमा लगाईएको गहुं बालिलाइ राम्रो फाईदा पुगेको शेर्पाले वताए । बुङमा लगाएको आलुलाइ भने पानीले केहि असर पुगेको छ ।
गुप्तेश्वर र रस्नालुको ताबें क्षेत्रमा वुधबार साँझ देखि बाक्लो हिमपात भइरहेको छ । स्थानीय सेतिदेवि प्रावि रस्नालुका शिक्षक कुमार आचार्यका अनुसार ताबें र कालचौतारा क्षेत्रमा ४ फिट सम्म हिउँ जमेको छ । जनजीवन कष्टकर छ आचार्यले भने - जाडो थाम्नै नसकिने छ ।
यसैगरी पश्चिमी रामेछापको शैलुङमा मंगलबार र बुधबार परेको हिउँ ३ फिट सम्म जमेको छ । हिमपातले मुडे देखि खोलाखर्क सम्म आउने सडक अवरुद्ध भएको छ । डडुवाको खोलाखर्क, घलेडाडा, वालुवा, छांगा लगाएतका वस्तीमा हिमपातले आउजाउमा समेत असर पारेको छ । शैलुङको दोलखा तर्फको भागमा पनि बाक्लो हिउ थुप्रीएको छ । त्यसैगरी गौश्वाराको माथिल्लो क्षेत्रमा समेत हिमपात भएको स्थानीय उमा श्रेष्ठले जनाएकी छिन् ।- टीकाप्रसाद भट्ट , मन्थली