
डा.मीना पौडेल
नीतिगत सल्लाहकार, अन्तर्राष्ट्रिय आप्रवासी संगठन
वास्तवमा भन्ने हो भने नेपालको विश्वविद्यालयको पढाइले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागिर खानका लागि सहयोग पुर्याउँदैन । अन्तर्राष्ट्रिय गैरसरकारीमा काम गर्नका लागि अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्छ । आफ्नो अध्ययन कम्तीमा पनि स्नातकोत्तर तहसम्मको पढाइ पूरा भएमा राम्रो हुन्छ । त्यसैगरी, जुनसुकै विषयमा पनि अनुसन्धानसम्बन्धी ज्ञानसँगै अनुसन्धान गर्न सक्ने भएमा जागिरमा प्रवेश गर्न सजिलो हुन्छ । अंग्रेजी भाषामा बोल्न लेख्न विश्लेषण गर्न सक्ने हुनुपर्छ । किनभने, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा सञ्चारका रूपमा अंग्रेजी भाषा मात्र प्रयोग हुन्छ । यदि अंग्रेजी भाषा राम्रो नभएमा प्रवेश गर्न नै सकिँदैन । त्यसैगरी, कुनै पनि विषयमा विश्लेषण गर्न सक्ने हुनुपर्छ । अन्तर्राष्ट्रिय संस्थामा विभिन्न क्षेत्रका लागि जनशक्ति मागेको हुन्छ । जसमा सामाजिक, आर्थिक राजनीतिक, न्यायिक अधिकार, प्रविधि, सञ्चारलगायत क्षेत्र हुने गर्दछन् । यस्ता विषयमा राम्रो विश्लेषण गर्न सक्ने हुनुपर्छ । हरेक विषयमा अपडेट हुनुपर्छ जसले गर्दा घटनाक्रमको अध्ययन गर्न सजिलो हुन्छ । त्यसैगरी, सूचना प्रविधिमा हार्डवेयर सफ्टवेयरलगायतमा राम्रो ज्ञान हुनुपर्छ । धेरैजसो संस्था कम्प्युटर प्रविधिद्वारा मात्र काम हुने भएकाले अनिर्वाय कम्प्युटरको ज्ञान हुनुपर्छ । आफ्नो व्यक्तित्वलाई फ्रेन्डली खालको बनाउनुपर्छ जसले गर्दा सहज रूपमा एकआपसमा काम गर्न सजिलो हुन्छ ।