नाकाबन्दीको सय दिन पार हुँदा पनि विकल्प दिन नसकेको सरकारका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले भने प्रमुख दलका शीर्ष नेतालाई साइकल वितरण गर्न थालेका छन् । उनले मन्त्रालयबाट साइकल किन्न लगाई शीर्ष नेताहरूलाई उपहार दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई तथा बुधबार कांग्रेस सभापति सुशील कोइरालालाई साइकल उपहार दिएर एकछिन चढ्न पनि लगाए । तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
चुलो बाल्न डिजेलको माग : ग्यास र मट्टीतेल नपाएर चुलो बन्द भएपछि सर्वसाधारणले डिजेल किन्न थालेका छन् । डिजेलमा नुन मिसाएपछि मट्टीतेलका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने जानकारी पाएपछि ग्यालेन बोकेर नेसनल ट्रेडिङको टेकुस्थित पम्पमा लाइन लागेका सर्वसाधारण।
खाना पकाउन पानीको माग : गाउँमा ग्यास र पेट्रोलभन्दा पानीको दुःख छ, पानी नभएर छाक अड्किएपछि दोलखाको नाम्दु गाविसका सर्वसाधारणले रित्ता ग्यालेनसहित जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरे । दैनिक दुई घन्टा हिँडेर पनि पानीको जोहो गर्न नसकेपछि उनीहरूले एक महिनाअघि दिएको निवेदनमाथि प्रशासनले सुनुवाइ नगरेको गुनासो गरे ।
तर, शीर्ष नेतालाई साइकल बाँडेर रमाउँदै सरकार







