नारायण श्रेष्ठ/रामेछाप, माघ २५ गते ।
रामेछापको बेतालिस्थीत सेरकालि मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा पिडित कृष्ण बहादुर बिश्वकर्माले प्रहरी चौकी बेतालीमा उजुरी दिएका छन । मन्दिरमा प्रवेश गरेर पुजा गरेको भन्दै मन्दीर चोख्याउन जरीबाना तिराउने पुजारीद्धय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीको विरुद्ध पीडित विश्कर्माले उजरी दर्ता गराएका हुन् ।
कसरी भयो घटना ?
रामेछापको बेताली गाविस वार्ड नम्वर ३ स्थित शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन मात्र पूजाआजा हुने गरेको छ ।धार्मिक बिस्वासको आधारमा उक्त मन्दीरमा पुजा गर्न बाहिरी जिल्लाबाट पनि मानिसहरु आउने गर्दछन । गत माघ २२ गते शनिबार बिहानै उठेर नुहाइधुवाई गरी कृष्णबहादुर र उनकी श्रीमती एकजोर पाठी लिएर उक्त मन्दिर पुगेका थिए । मन्दिर पुगेपछि उनी आफूले लगाएको छालाको पेटी र चप्पल बाहिर फुकालेर पूजा गर्न मन्दिरभित्र पसे । अकस्मात् मन्दिरभित्र कृष्णबहादुरलाई देखेपछि ‘तँ अछुत जात (दलित) मन्दिरभित्र पस्नै हुदैन, पसिस तलाई पख’ भन्दै मन्दिरका पुजारी चिच्याउँदै बाहिर निस्किए । मन्दिरबाट पुजारी बाहिरिएसँगै नियमित पूजाआजा सबै रोकियो । कृष्णकुमारले पाठी बलि दिन पाएनन् । त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो । दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्माका परिवार सहित छलफल भयो । छलफलमा कृष्णबहादुरको गल्ती ठह¥याइयो । मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे ।
मन्दिरका पुजारी छत्रबहादुर बुढाथोकी लगायतले पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए । पुजारीले रकम लिएसँगै आफूले लगेको पाठी बलि दिएको कृष्णकुमारले टेलिफोनमार्फत जानकारी दिए ।
के भन्छन पिडित कृष्ण बहादुर ?
दलित भएकै नामा मन्दिर भित्र पसेर पूजा गर्न नपाउँदा दुःख लागेको पिडित कउष्ण बहादुर बिकले बताए । सरकारले छुवाछूतको अन्त्य गरेको धेरै समय भइसकेको छ । तर, आफूजस्ता दलितले अहिले पनि मन्दिरभित्रै पसेर पूजा गर्न नपाउँदा दुःख लागेको कृष्णबहादुरले बताए । पिडित बिश्वकर्माले भने,‘भगवान सबैको साझा हो, भगवान मान्ने भएरै मन्दिरभित्र दर्शन गर्न छिरेको थिए तर पुजारी सहितका केही व्यक्तिले दलितले मन्दिर प्रवेश गर्दा अछुतो भयो अब पाँच हजार तिर्नु पर्छ भनेर धम्की दिए ।’ ज्यानै जाने अवस्थामा आफूले बाँध्य भएर पैसा तिरेको बताउदै विकले आफूले मन्दिरको दर्शन गरेको थाहा पाएपछि पुजारीले मन्दिरमा पुजा नगर्ने भनि निस्किएको बताए । उनले भने,‘मन्दीरमा दलितले पुजा गर्न हुँदैन भनेर कुन धर्म शास्त्रमा लेखिएको छ ? हामी पनि यही समाजमा मान्छे हो, दलित भएकै कारण अब सधै थिचोमिचो र हेपाइ खाएर बस्न सकिन्छ, दोषीलाई कारवाही गर्नुपर्छ ।’ उनले भने । मन्दिरमा पूजा गर्न नदिने र क्षतिपूर्ति भराउन लगाउने मन्दिरका पुजारीद्वय मन्दिरका दुवै पुजारी छत्रबहादुर र भीमबहादुर विरुद्ध बेताली प्रहरी चौकीमा आइतबार लिखित उजुरी दिएको उनले बताए ।
दोषीलाई कारबाही हुन्छ : डिएसपी ढुंगेल
मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा पिडित बिश्वकर्माले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए ।बेतालीमा रहेको शेराकाली मन्दिरमा प्रवेश गरेर पुजा गर्ने क्रममा कृष्णबहादुर विश्वकर्मा माथि दलितले मन्दिर प्रवेश गरेको भन्दै पीडित विश्वकर्मालाई धम्की दिएर पुजारीद्धयले रुद्री पूजा गर्नको लागि पाँच हजार रुपैयाँ जरिवाना गरेको उजुरीमा उल्लेख गरिएको छ ।
उनले भने,‘पीडितले प्रहरी चौकी बेतालीमा उजुरी दिएपछि गाउँमा नै माफी माग्ने कुरा मलाई रिपोर्ट भएको थियो, दोषीलाई माफी मागेर छोडन सकिदैन, कानुन अनुसार कारवाही हुन्छ ।’ पीडित कृष्णबहादुर विश्वकर्माले न्याय पाउने विश्वास दिलाउदै उनले निवेदन सहित दोषीलाई सदरमुकाम मन्थली झिकाएको बताए । डिएसपी ढुङगेलले भने,‘काुननले नगर्नु भनेको काम गरेर पुजारीद्धयले निकै ठूलो गल्ती गरेका छन, अब उनीहरुलाई कानुनले तोक अनुसार कारवाही हुन्छ, कुनै छुट दिन सकिदैन, समाजमा विकृति भित्र्याउनेलाई माफी मागेर छोडन सकिदैन ।’
प्रजिअ अधिकारीको भनाई के छ त?
मन्दिरभित्र दलित पस्यो भनेर जरिवाना गराउने पुजारीलाई कानुन अनुसार कारबाही गर्न आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
स्थानिय के भन्छन ?
स्थानीय विनोद फुँयालका अनुसार बेतालीमा रहेको शेराकाली मन्दिरमा परम्परादेखि नै महिनावारी भएका महिला र दलित मन्दिरभित्र पस्न पाउँदैनन् । मन्दिरका पुजारीलाई कृष्णकुमारले पाँच हजार बुझाएसँगै रुद्री लगाएर पुनः नियमित रूपमा पूजा सञ्चालन गरेको बेताली गाविसका प्राविधिक सहायक बाबुराम घिमिरेले जानकारी दिए । सो मन्दिरमा पूजा गर्न दोलखा, सिन्धुलीदेखि भक्तजन आउने गरेको अर्का स्थानिय बताए ।
यस्तो छ कानुनी प्रावधानः
जातीय विभेदलाई अहिलेको संविधानले दण्डनीय मानेको छ । जातीय विभेद र छुवाछूतजन्य अपराध गर्नेलाई कानुनले दण्ड गर्ने थुप्रै दफा उपदफा थपिएको छ । जातीय विभेद वा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ बमोजिम जातीय छुवाछूत गर्ने वा गराउने व्यक्तिलाई तीन महिना देखि तीन वर्षसम्म कैद वा एकहजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।नेपालको संबिधान २०७२ को धारा २४ ले छुवाछुत विरुद्दको हकलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । सरकारले मुलकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दश बर्ष पुगेको छ । नयाँ संबिधानमा दलित हक भनि मौलिक हकको रुपमा धार्रा ४० र जातीय भेदभाव तथा छुवाछुत विरुद्दको हक भनि धार्रा २४ मा उल्लेख गरिएको छ ।मुलुकी ऐन २०२० मा भएको संसोधनले सबै भन्दा पहिले छुवाछुत र जातीय भेदभावलाई निषेध गरेको थियो ।


