कार्तीक २२, रामेछाप
स्थानीय तह पुनः संरचनाको विषयलाई लिएर रामेछाप जिल्लाको राजनीतिक दलभित्र चरम असन्तुष्टि सिर्जना भएको छ । पुनःसंरचना गर्दा भूगोल नमिलाएको भन्दै स्थानीय कार्यकर्ताहरु दलका जिल्लाको नेताप्रति असन्तिुष्टि जनाउँदै विरोधमा उत्रिएका छन् ।
जिल्लाको पिंखुरी, खिम्ती तिल्पुङ्ग नागदह, गोठगाउँ लगायत दलका कार्यकर्ताहरु स्थानीय तह पुनःसंरचनाको विषयलाई लिएर विरोधमा उत्रिएका हुन् । स्थानीय पुन संरचना अन्तर्गत माकादुम गाउँपालिकामा परेको पिंखुरी गाविसका स्थानीले पिङ्गखुरी गाविसलाई मन्थली नगरपालिका समायोजन गर्न माग गर्दै स्थानीय पुनः संरचना समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।
पिंखुरीको लागि गाउँपालिका माकादुम पुग्दा ४० किलोमिटर रहेको र मन्थली आउँन १६ किलोमिटर मात्र रहेको भन्दै पिंखुरीलाई मन्थली नगरपालिकमा समायोजन गर्न स्थानीय माग गरेका छन् ।
त्यसैगरी खिम्ती र तिल्पुङ्ग गाविसले पनि पुनः संरचनाको भूगोलको विषयलाई लिएर पुनः संरचना समिति र जिल्ला स्थीत राजनैतिक दलहरुलाई लाई ज्ञापन पत्र बुझाएको छ । पुनः संरचनाको विरोधमा आज साँझ राँके जुलुश निकाल्ने तयारी भएको वाइसीएल नेपाल रामेछापका संयोजक शेरबहादुर खड्काले बताउनुभयो ।
यस्तै रामेछाप जिल्लामा ८ वटा स्थानीय तह बनाउने राजनीतिक सहमति प्रति सामाजिम सञ्जाला फेसबुकमा विभिन्न असन्तुष्टिहरु आउन थालेका छन् । केहीले आफ्नो क्षेत्रमा गाउँपालिका र नगरपालीकाको कन्द्र बनेको भन्दै सन्तुष्टि जनाएका छन् भने धेरैले असन्तुष्टि पोखेका छन् ।
प्रतिक्रिया दिनेहरुमा स्थानीय तह बनाउन सहमति जुटाउन लागी पर्ने दलका नेता तथा कार्यकतादेखि सर्वसाधारण नागरिक समेत रहेका छन् । कतिले सोचेकै जस्तो भएछ भनेर खुशि व्यक्त गरेका छन् भने कतिले एकलौटि भएको भन्दै सो निर्णयको विरोध र आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले धेरै ठूलो बहस, रस्साकस्सि अनि असहमतिहरुको बीचबाट साझा सहमति कायम गरि रामेछाप जिल्लालाई ८ वटा स्थानीय तहमा पुर्नसंरचना गरिएको फेसबुकमा लेख्नुभएको छ । यस्तै उहाले आफ्नो फेुबकमा लेख्नु भएको छ–“आफ्नो गाउँ आफुले सोचेको ठाउँमा नपरेकोमा अनि केन्द्र सोचेको स्थानमा नराखेकोमा दुखेसो पोख्नु केही हदसम्म ठिकै होला तर ८ वटा स्थानीय तहको निर्विवादित खाका बनाएर पोष्ट गर्नुहुन सबै बिद्वान मित्रहरुमा अनुरोध छ । हामी त्यै खाका लाई पास गरेर पठाउन आयोगलाई अनुरोध गर्ने छौं । सभ्य र सकारात्मक सल्लाहको अपेक्षा गर्दछु ।” उहाले भन्नुभएको छ ।
यस्तै घरेलु तथा साना उद्योग महासंघ रामेछापका अध्यक्ष सुवास बोहोराले पुर्नसंरचना सम्बन्धी दलिय समितिले तिल्पुङ र खिम्तिका जनताको लागि धोबी केन्द्र बनाउन गरको निर्णय गलत भएको भन्दै फेसबुक मार्फत बिरोध गर्नु भएको छ । उहाँले गलत निर्णयको बिरोध गरि तिल्पुङ खिम्तिका जनतालाई पाएक पर्ने खिम्ती वा मन्थली केन्द्र बनाउने पहलमा सबै लाग्नुपर्ने फेसबुकमा लेख्नुभएको छ ।
त्यस्तै जिल्ला खेलकुद बिकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरीयाले रामेछाप समग्र विकासमा किन अरु जिल्ला भन्दा पछि पर्यो भन्ने प्रश्नको उत्तर दलहरुबिचको कथित सहमति भनिएको स्थानीय पुनर्संरचनाको कुराले प्रष्ट पारेको फेुबुक मार्फत जनाउनुभएको छ । उहाँले १० मिनेटमा पुगिने तिल्पुङ, १५ मिनेटमा पुगिने खिम्ती ,पिच सडकले जोडेका यी गाबिस चाहिँ मन्थली नगरपालीकामा नपर्ने , त्यही बाटो हुँदै मन्थली जान ३/४घण्टा लाग्ने फुलासी चाही मन्थली नगरपालिकामा पर्ने भन्दै विरोध जनाउनु भएको छ । उहाले थप्नुभएको छ - कस्तो मापदण्ड ? यिनका बुद्धि लाई थुक्क भन्न मन लागेको छ तर के गर्नु अराजक भन्लान त्यसैले केही भन्दिन तर यो कदापी स्विर्कार्य हुने छैन।जनताको भावना माथी खेलवाड गर्ने अधिकार कसैलाई छैन।तिम्रा भोटको पुनर्संरचना मुर्दाबाद।
खाडादेविका शेरवहादुर तामाङले रामेछापको पुर्नसंरचनाको निर्णय नसच्याए जिल्ला स्तरका नेताहरुको हत्या गर्ने चेतावनि दिदै लेख्नुभएको छ– खाँडादेबि गाउँ पालिकाको केन्द्र मझुवा ४ र ६ को आसपास अथवा खाँडादेबि ७ को ठुलढुङगा मा केन्द्र सहमत नभए खाँडादेबि गा बि स र राकाथुम कुनै हलत मा सहमत हुने छैन यसमा दुई गाबिस को जनता जस्तो सुकै मुल्य चुकाउन तयार हुने छ । सबै कुरामा पछि परेको गा बि स लाई बेवास्ता गरि आफ्नो राजनीतिक स्वार्थ लाई अगाडि राखेर गरेको निर्णयलाई यी दुई गा बि स को जनताले जुनसुकै पार्टीको नेता भए पनि त्यस्ता नेताहरुको हत्या गर्न पछि पर्ने छैन खाँडादेबि गाबिस र राकाथुमको युबाहरुलाई युद्धको लागि हातहतियारका साथ तयारी रहन हार्दिक अपिल गर्दछु ।
मन्थलीका राम केसी लेख्नुहुन्छः–“पञ्चायत शैलि । फेरि आर्को कुरा आयोगले काम गरेन कि दलका टाउकेले ? पुर्णतया गलत छ ।”
यता जिवन श्रेष्ठ रामेछापको प्रतिक्रीया यस्तो छः– रामेछाप जिल्ला पूर्नसंरचा आयोग र तीन राजनीतिक दलको सहमतिमा रामेछाप नगरपालिका बनाउने सहमति भएकोमा हामी रामेछाप बासि खुसी छौ ।
रामेछापकै सुदर्सन राय लेख्नुहुन्छः– “जिबिस रामेछापको हिजोको बैठकले रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजार जिरो किमि देखि ओख्रेनिको गणेसटार सोर किमिसम्म कायम गरेछ ! बधाइ छ रामेछापका राजनैतिक दलका नेताहरुलाइ लगभग नेपालको राजधानी काठमाडौ जत्रै नगरपालिका केन्द्र बनाउने गैर बैज्ञानिक निर्णय गरि गिनजबुकमा नाम लेखाउन सफल भएकोमा ।”
फेसबुक मार्फत नै कृष्ण कार्कीले हचुवाको भरमा गरिएको अविवेकीे निर्णयमा सहि ठोक्ने राजनितिक दल र दलका प्रतिनिधिहरुलाई सम्बन्धित गाविसका सचेत नागरिकहरु मिलेर आगामी निर्वाचनमा नाङ्गेझार पारौ भनि लेख्नु भएको छ ।
सान्तश्री घिमिरेले केन्द्र पनि यहाँदेखि त्यहाँसम्म भन्ने हुन्छ र भनेर प्रश्न गर्नु भएको छ । रामेछाप नगरपालीकाको केन्द्र रामेछापदेखि ओख्रेनीको गणेशटारसम्म तथा उमाकुण्ड गाउँपालीको केन्द्र लाप्चानेदेखि अजमडाँडासम्म प्रस्ताव गरिएको सन्दर्भमा उनको यस्तो प्रतिक्रिया आएको हो ।
रामेछापमा जिल्ला स्थित राजनीतिक दलहरुको सहमतिमा रामेछापमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको प्रस्तावमा राजनीतिक दलहरुले शनिबार साँझ सहमति जनाएका थिए ।

