२२ असोज, रामेछाप ।
रामेछापको पश्चिमी गाविस हिलेदेवीमा स्थानीयबासीको सक्रियतामा अबको दुई महिनाभित्र बिजुली बत्ति बल्ने भएको छ । छिमेकी गाविस बेथान र गुन्सीमा बिजुली बलेको बर्षौ भइसक्दा समेत हिलेदेवीमा बिजुली बल्न सकेको थिएन ।
विद्युत लाईन विस्तारमा सरकारले वेवास्ता गरेपछि स्थानीयको सक्रियतामा बिजुली बत्ति बाल्ने अभियान थालीएको । गाविसको आठ वटा वडामा स्थानीयबासीले प्रतिघर १२ हजार रुपैयाँ संकलन गरेर विजुली बाल्ने काममा रातदिन जुटेका छन् । झण्डै छ महिना अघिबाट सुरु भएको बिजुली वत्ति बाल्ने अभियान पूरा गर्न अबको दुई महिना लाग्ने विद्युत लाइन विस्तार समिति हिलेदेवी उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर थिङले बताए । उनले भने,‘सरकारको मुख ताक्दा बत्ति बाल्न धेरै समय कुर्नु पर्ने भो, धेरै बर्ष कुर्नु भन्दा गाउले मिलेर बत्ति बाल्ने अभियानमा जुटेका छौ ।’ हिलेदेवी गाविसका हाल ८ सय ७० घरघुरी रहेका छन । अहिलेसम्म विद्युतीकरणको लागि उपभोक्ता समितिले २८ लाख रुपैयाँ संकलन गरिसकेको छ । विद्युतीकरणको लागि गुन्सी गाविसको हिल्केटारबाट हिलेदेवी गाविसमा विद्युतको केन्द्र्रीय प्रसारणलाईन विस्तारको काम सम्पन्न भएर सबै वडामा तार समेत तानिसकेको स्थानीय कुलबहादुर थिङले बताए । उनले भने,‘एक नम्बर बाहेक आठ वटा वडामा विद्युतीकरणको लागि तार विस्तारको काम सम्पन्न भएको छ, दुई वटा टान्सर्फमर ल्याएपछि एकै पटक सबै गाविसभर बत्ति बल्छ ।’
सरकारको मुख ताक्दा बत्ति बाल्न धेरै समय कुर्नु पर्ने भो, धेरै बर्ष कुर्नु भन्दा गाउले मिलेर बत्ति बाल्ने अभियानमा जुटेका छौ
गाविसको १ नम्बर वडामा स्थानीयहरुले लद्यु जलविद्युत भएकाले हाललाई नबाल्ने एक नम्बरका बासिन्दाले बताएपछि बाँकी आठ वटा वडामा भने अबको दुई महिना भित्र बिजुली झलमल हुन्छ, उपभोक्ता समितिका अध्यक्ष थिङले भने,‘हामी अबको दुई महिनाभित्र सबै वडामा बत्ति बाल्ने योजनमा छौ ।’ प्र्रत्येक घरधुरीबाट उठाइएको १२ हजार रुपैयाँबाट उक्त घरमा मिटरबक्स र हाउसवायरिङ गरिदिने गरी काम अगाडि बढाउने थिङले बताए । विद्युतीकरणको लागि गाविसबाट झण्डै ९६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य उपभोक्त समितिले लिएको छ । गाविसमा विद्युतीकरणको लागि गाविसबाट १३ लाख, सांसदहरुबाट ७ लाख रुपैयाँ छुटयाइएको छ ।
दशै अगाडि नै गाउँ झलमल पार्ने लक्ष्य थियो पोल ढुवानी तारको लाइन विस्तार गर्न समय लाग्नु र हाल दुई वटा मात्र टान्सफर्मर भएकाले एकै पटक बत्ति बाल्ने गरी कामलाई अगाडि बढाई रहेको थिङले जानकारी दिए ।
जिल्ला विद्युत प्राधिरणले २४ किलो वाटको टान्सफर्म उपलब्ध गराएको छ भने दुई सय किलो वाटको टान्सफर्म उपभोक्त समितिले ६ लाख ५५ हजार रुपैयाँमा खरिद गरेर गाविसमा पुर्याएको छ । गाविसभरी बत्ति बाल्नको लागि अब दुई वटा टान्सफर्मरको आवश्यता परेको अध्यक्ष थिङले बताए । गाविसभर बिजुली बल्ने भएपछि हिलेदेवीबासीमा खुसी छाएको छ ।
साभारः रामेछाप निउज डटकम


