रामेछाप, माघ १२
विद्यालय हातामा रहेको रुख काटेको बिषयलाई लिएर जनता प्राथमिक विद्यालय हिमगंगाका प्रधानाध्यापक श्याम सुनुवारलाई स्थानीय एक युवाले कुटपिट गरेपछि विद्यालयको पठनपाठन बन्द भएको छ ।
एउटा चिलाउनेको रुख काटेको विषयलाई लिएर स्थानीय प्रविन सुनुवारले विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेपछि शिक्षकको टाउँकोमा गम्भीर चोट लागेको छ । पढ्दै गर्दा अकस्मात शिक्षकलाई कुटेको देखेपछि विद्यालयमा अध्ययन गर्न आएका बालबालीकाको भागदौड मच्चिएको थियो । विद्यालयको कक्षा कोठामा आएर शिक्षकलाई एकाएक कुटेको देखेपछि विद्यार्थी हातमा किताब कापी च्यापेर दौड्दै घर गएका थिए । विद्यालयमा नै शिक्षक कुटिएर घाइते भएपछि शिक्षकहरुले साँघुटारमा रहेको प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरीले घाइते शिक्षकलाई उपचारको लागि साँघुटारमा रहेको स्वास्थ्य चौकी पुर्याएको छ । उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । विद्यालयमा नै आएर शिक्षक कुटिएको विषयलाई लिएर शिक्षकहरुले शिक्षक कुट्नेलाई कारवाही नगरेसम्म विद्यालयमा पठनपाठन नगराउने बताउँदै आएका छन् ।
ujyaaloonline.com