चैत्र १६ गते/रामेछाप-आप्रवासी कामदार हक हित संरक्षण तदर्थ समिति रामेछापले जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापनपत्र बुझाएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन माग गर्दै समितिले सोमबार जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत श्रम तथा रोजगार मन्त्रालयमा ज्ञापन पत्र पेस गरेको हो । ज्ञापन पत्रमा वैदेशिक रोजगारलाई सुरक्षित बनाउन ४ बुँदे माग अघि सारिएको छ ।
जसमा कतार साउदी अरब बहराइन कुवेत यु ए ई ओमन सहित खाडिका ६ वटा र मलेसियाका लागि नेपाल सरकारले गत असार २१ गतेदखी लागु हुने गरी तोकेको शुन्य लागतमा बैदेशिक रोजगारमा कामदारलाइ पठाउने निर्णय प्रति अडिग रही सोको व्यवहारीक रुपमा कार्यान्वयन गर्नुपर्ने, आप्रबासी कामदारहरुका लागी सुरुक्षित र उपलब्धिमुलक बैदेशिक रोजगारीको बाताबरण बनाउनुपर्ने, नेपाली कामदारहरुको लागी उपयुक्त नया गन्तव्य मुलुकहरुको खोजी गर्नुपर्ने, श्रम सम्झौता हुन बाँकि गन्तव्य मुलुकहरुसँग तत्काल श्रम सम्झौता गर्नु पहल गर्नुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएका छन् ।
त्यस्तै म्यानपावर कम्पनीहरुको आन्दोलन तत्काल अन्त्य गराउन आवश्यक पहल गरी जाने तयारीमा रहेका आप्रवासी कामदारहरुका लागि सुरक्षित वैदेशिक रोजगारीको वातावरण मिलाउन मन्त्रालयलाई आग्रह गरेको छ । हाल मलेसियन सरकारले तत्कालका लागि नेपाली कामदार नलिने निर्णय गरेकाले नेपाली कामदारका लागि उपयुक्त नयाँ गन्तव्य मुलुकहरुको खोजी गर्न ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गरेको छ । समितिले श्रम सम्झौता हुन बाँकी गन्तव्य मुलुकहरुसँग तत्काल श्रम सम्झौता गर्न पहल गर्न अनुरोध गरेको छ । ज्ञापन पत्र बुझाउन आप्रवासी कामदार हकहित संरक्षण तदर्थ समितिका पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
तस्बीरःदेशपरदेश अनलाईन

